काठमाडौं । महिलाविरुद्ध हिंसाको कुरामा सबैभन्दा चर्को बोल्ने अभिनेत्री हुन्, केकी अधिकारी । धेरै टाढा जान पर्दैन, भर्खरै पनि शिल्पा पोखरेलमाथि भएको घरेलु हिंसामा उनले लेखेको स्ट्याटसले खूब चर्चा पायो ।तर, बोल्नु र आफैँमा लागू गर्नु फरक कुरा हो । त्यो अरूले होइन, केकी स्वयंले चरितार्थ गरिन् । महिलाको शरीरलाई वस्तुसँग तुलना गरेको भन्दै बेलाबखत चर्कने केकीले मित्र आर्जन पाण्डेले गाएको त्यस्तै गीतको सामाजिक सञ्जालमा प्रमोट गरिन् ।
आर्जनले अघिल्लो हप्ता ‘घाँटीभन्दा तल’ बोलको गीत सार्वजनिक गरेका थिए । गीत गाउने आर्जन अनि मोडलिङ गर्ने रिमा विश्वकर्मा । गीतलाई प्रमोट गर्नु केकीको कर्तव्य हुन आउँथ्यो । उनले कुनै कसर बाँकी पनि राखिनन् । गीत सेयर गरिन्, टिकटकमा भिडियो बनाइन् । तर, जब गीत विवादमा पर्यो, उनले हतार हतार टिकटकबाट भिडियो हटाइन् । तर, त्यतिञ्जेलसम्म दुनियाँले उनको दोहोरो चरित्र चाल पाइसकेको थियो ।
एकातिर महिला अधिकारका ठूलठूला कुरा गर्ने, अनि अर्कातिर तिनै अधिकारका धज्जी उडाउने गीतको प्रचारप्रसार गर्ने ? केकीले फिल्ममा डबल रोल गर्न नपाएर के भो ? वास्तविक जीवनमा गरिरहेकै छिन् ।