चितवनको होटलमा झुण्डिएको अवस्थामा पत्रकारको शव

  NTV CHITWAN

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढको पोखरा बसपार्कमा रहेको होटलमा एक व्यक्तिको झुण्डिएको अवस्थामा शव फेला परेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका माउण्टेन टेलिभिजनका टिभी जर्नालिष्ट शालिग्राम पुडासैनीको शव होटलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । होटल कङ्गारुपमा हिजो सोमबार दिउँसो कोठामा इन्ट्रि गरेर केही जग्गा व्यवसायीसँग छलफलपछि खाना अर्डर गरेर गएका पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको होटल सञ्चालक बताउँछन् ।
होटल सञ्चालकका अनुसार खाना खानको लागि राति आठ बजेसम्म पनि नआएपछि कोठामा पुग्दा भित्रबाट चुक्कुल लगाएको अवस्थामा भेटेर प्रहरीलाई खबर गरिएको थियो । मृतक पुडासैनीले कोठाको सिलिङमा डोरी लगाएपछि झुण्डिएर आत्महत्या गरेको जस्तो देखिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले शवको मुचुल्का उठाइरहेको र मृतकका बुबा घटनास्थलमा आएपछि मात्रै झुण्डिएको डोरी काटेर शव निकालिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।