संसारकै महँगो मध्येको एट्लान्टिस होटलमा प्रचण्ड परिवार

काठमाडौँ, १४ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता, दुई छोरी र नातिनी सहित दुबई पुगेका छन् । पारिवारिक भ्रमणका लागि दुवई पुगेका प्रचण्ड संसारकै महँगोमध्येमा पर्ने होटेलमा बसेका छन् । मंगलवार बिहान साढे ९ बजे परिवारसहित दुबई उडेका प्रचण्ड दुबईको पाम जुमेरास्थित एट्लान्टिस होटेलमा बस्ने भएका हुन् ।नेपाली समयअनुसार दिउँसो करीब १ बजे प्रचण्ड सपरिवार दुबई पुगेकाहुन् । दुवईमा प्रचण्डलाई त्यहाँका नेकपाका कार्यकर्ताहरूले भब्य स्वागत गरेका थिए । नेकपा युएईका प्रस्तावित संयोजक बाबुराम विश्वकर्मा र प्रस्तावित सचिव श्याम पाठक प्रचण्डलाई स्वागत गर्न एयरपोर्ट पुगेका थिए । प्रचण्डले दुबईस्थित नेपाली कम्युनिटी र नेपाली बिजनेस काउन्सिलका सदस्यहरूसँग भेट गर्ने कार्यक्रम छ । तर राजनीतिक भेटघाटको भने कुनै योजना र कार्यक्रम तय भएको छैन ।

नेकपामा विभागको नेतृत्व टुंगो लगाउन सकस परेपछि १५ दिनसम्म सचिवालय बैठक स्थगित गरेर प्रचण्ड सपरिवार दुबई लागेका हुन् । सिताको इच्छा अनुसार उनी पारिवारिक सहित दुवई गएका हुन् । सिताले लामो समय देखि दुवई भ्रमणको इच्छा गरेका कारण प्रचण्डले अहिले समय निकालेका हुन् । पारिवारका सदस्यका अनुसार प्रचण्ड नितान्त घुमघामका लागि परिवारसहित दुबई पुगेका हुन् ।

प्रचण्डसँगै पत्नी सीता दाहाल, छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि भ्रमणमा रहेका छन् । लामो समयदेखि बिरामी रहेकी पत्नी सीता दाहालको इच्छामा दुबई भ्रमण तय गरिएको हो । सिता अस्वस्थ्य भएका कारण प्रचण्डले उनको मन बहलाउन ठाउँ ठाउँको भ्रमणका लागि लैजाने गरेको स्रोत बताउछ ।तर उनी दुबई कति दिन बस्छन् भन्ने बिषयको जानकारी बाहिरिएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।