कोसी ब्यारेजको ३६ ढोका खोलियो,विहार जलमग्न,ढोका बन्द गर्न भारतको दबाब

सुनसरी । देश भर लगातार वर्षा हुँदा धेरै जन धनको क्षती भएको छ । पहिरो, बाढी र डुबानका कारण देशका विभिन्न ठाउँहरूमा जनधनको क्षति भएको हो । त्यस्तै लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ ।१ लाख ५० हजार क्यूसेक पानीको मापन पछि खतरा मानिने अपराह्न दुई बजेको मापनअनुसार २ लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक दाहालले जानकारी दिए ।अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । यसैबीच आज प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

रासस

यो पनि पढ्नुहोस ! अपडेटः बाढी र पहिरो वितण्डा: २८ जनाको मृत्यु, १६ बेपत्ता
काठमाडौं। अविरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा तीन/तीन, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई/दुई तथा ओखलढङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक/एक गरी २८ जनाको ज्यान गएको हो ।काठमाडौंमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिन्धुलीमा चार, सिराहमा दुई, भक्तपुर, सुनसरी र मकवानपुरमा एक/एक जना गरी ६४ जनाको सकुशल उद्धार गरिएको छ । बाढी पहिरोबाट ठूलो मात्रामा धनमालसमेत क्षति भएको छ ।साथै मकवानपुरमा तीन, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक/एक जना गरी ११ जना घाइते भएका छन् । सिन्धुलीमा चार, भोजपुरमा तीन तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा एक/एक जना गरी १६ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य जारी प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत हटाउने कार्य जारी रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।