काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको वैवाहिक सम्बन्धमा आएको तनाव अझै कम भएको छैन । पति छविराजबाट आफू पीडित भएको भन्दै सुरक्षाको माग राखेर काठमाडौं प्रहरी परिसरमा निवेदन दिएकी शिल्पा छविसँग वैवाहिक सम्बन्ध अघि बढाउने वा नबढाउने दोधारमा देखिएकी छन् ।शिल्पाको निवेदनका आधारमा बिहीबार प्रहरीले दुवै पक्षलाई छलफलका लागि टेकुस्थित परिसर कार्यालयमा बोलाएको थियो । प्रहरीले बोलाएपछि छवि र शिल्पा दुवै परिसर पुगेका थिए । सो क्रममा प्रहरीले दुवै पक्षलाई मिलेर अघि बढ्न सुझाव दिएको छ । आफूबाट गल्ती भएको भन्दै छविले माफी मागेका छन् । सम्बन्धलाई सुधारेर वैवाहिक जीवन अघि बढाउन छविले शिल्पासँग प्रस्ताव पनि गरेका छन् ।
प्रहरीसँगको छलफलपछि बाहिरिने क्रममा छविराजले सम्बन्धविच्छेद नहुने प्रतिक्रिया दिए । घरेलु हिंसाबाट पीडित भएकी बताएकी शिल्पा भने छविसँगको सम्बन्ध टुंग्याउने या अघि बढाउनेमा अझै दोधारमा देखिएकी छन् । शिल्पाले घरभित्रको कुरा बाहिर ल्याएको भन्दै छविले गुनासो समेत गरे ।