सप्तरी -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।राजविराज नगरपालिका–६ स्थित उनको डेराबाट श्रेष्ठलाई घुसबापत लिएको एक लाखसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
बोदे बसाइन नगरपालिकास्थित तरही र देउरी गाउँ जोड्ने स्वर्ण खोलाको झोलुङ्गे पुल निर्माण कार्यको पेश्की फर्छ्याैटका लागि मूल्याङ्कन गर्ने क्रममा एक लाख घुस लिएको आयोगको जिकिर छ । स्वर्ण खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजीव रायले बिहानै श्रेष्ठको डेरामा एक लाख बुझाउनुभएको थियो ।
पहिलो किस्तावापत पेश्की लिएको आठ लाख बराबरको काम सम्पन्न नभएको भन्दै मूल्याङ्कन हुन नसक्दा उपभोक्ता समितिले दोस्रो किस्ताबापतको पेश्की रकम उठाउन पाएको थिएन ।
तत्कालीन जिल्ला विकास समितिले उपलब्ध गराएको रकमबाट विसं २०७० देखि नै थालिएको पुल निर्माण मूल्याङ्कन नहुँदा अधुरै छ ।पक्राउ परेका श्रेष्ठले स्वर्ण खोलाको काम बोदे बसाइन नगरपालिकाअन्तर्गत परेकाले आफूले मूल्याङ्कन गर्न नमिल्ने बताए पनि उपभोक्ता समितिले मूल्याङ्कन गरी दिन दबाब दिँदै आएको थियो । रासस