काठमाण्डौ ।
वरिष्ठ पत्रकार किशोर नेपालले धुर्मुस सुन्तलीलाई घाँटी हेरेर हाड निल्न सुझाव दिएका छन् । एक यूट्युब च्यानलसंग कुराकानी गर्दै उनले रंगशाला निर्माण गर्छु भन्दै लागि परेको धुर्मुस सुन्तलीले गर्नै नहुने काममा हात हालेको बताएका छन् । चितवनमा रंगशाला बनाउन गएका धुर्मुस सुन्तलीले चितवनकै बासिन्दाहरुलाई धम्काउने र गाली गर्ने शैली नकारात्मक भएको टिप्पणी समेत गरेका छन् ।यसैबीच उनले चन्दा उठाएर समाजसेवा पनि गर्न नसकिने बताएका छन् । धुर्मुस सुन्तलीले आफ्नो क्षमताअनुसारको काम गर्नुपर्ने भन्दै नेपालले ३ अर्बको रंगशाला निर्माण कुनै मजाकको विषय नभएको बताएका छन् ।नेपालका विभिन्न क्षेत्रहरुमा धुर्मुस सुन्तलीले गरेको नमुना बस्ती निर्माणको कामलाई पनि सामान्य रुपमा हेरेको पत्रकार नेपालले बताएका छन् । दुनिया संग चन्दा उठाएर जसले पनि बनाउन सक्ने भन्दै नेपालले यसलाई कुनै ठुलो कामको रुपमा नलिएको बताए ।
नेपालले धुर्मुस सुन्तलीलाई भिखारीको संज्ञा समेत दिएका छन् । ‘भाँडो जोगीले बोकेको जस्तो बोक्ने अनि संसारभरी माग्न जाने भिखारीले जसरी’ उनले भने, ‘मागेर समाजसेवा गरिँदैन ।’उनले धुर्मुस सुन्तलीले पारदर्शीता समेत नदेखाएको आरोप लगाएका छन् । ‘पारदर्शीता भनेको ऐनामा हेर्नु हो ?’ उनले प्रश्न गरे ।धुर्मुस सुन्तलीबाट आफुलाई शुरुवात देखि नै विश्वास नभएको समेत बताएका छन् ।