७० हजार डलरमा सिपिएलले किन्यो सन्दीप लामिछानेलाई

काठमाण्डौं, जेठ ८ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बार्बाडोस ट्रिडेन्ट्समा आवद्ध भएका छन् । बुधबार भएको ड्राफ्टको चौथो राउन्डमा बार्बाडोसले सन्दीपलाई आवद्ध गरेको हो। सन्दीप ७० हजार अमेरिकी डलरमा आवद्ध भएका हुन् । बार्बाडोसले अहिलेसम्म जासन होल्डर, एलेक्स हल्स, असिफ अली, वाहेब रियाज र जोनसन चाल्सलाई भित्र्याइसकेको छ ।

सन्दीप गत संस्करणमा सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। ५ हजार डलरमा आबद्ध उनले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५ खेलमा ७ विकेट लिन सफल भएका थिए । ड्राफ्टको सूचीमा नेपालका चार जना खेलाडी दर्ता भएका छन् । नेपालबाट सन्दीप लामिछाने दोस्रो पटक पर्दा तीव्र गतिका बलर सोमपाल कामी, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा छन् । सन्दीप बाहेक अन्य खेलाडीलाई अहिलेसम्म कुनै पनि टिमले भित्र्याएका छैनन् ।

ड्राफ्टमा नेपालका चार खेलाडीसहित २० देशका ५ सय ३६ खेलाडी छन् । सिपिएल आगामी ४ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन् । जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।