शेरबहादुर देउवाले भनेको ठ्याक्कै मिल्यो, डाँको छाडेर किन रोए पत्रकार ?

विराटनगर – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनमा जनताले रुन समेत नपाउने व्यंग्यात्मक अभिव्यक्ति दिएका थिए ।कम्युनिस्ट निरंकुश र अधिनायकवादी हुने भएकाले सबैलाई दुःख दिने भनेर देउवाले अभिव्यक्ति दिँदा जनताले पत्याएनन् । तर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला देउवाले भनेको कुरा ठ्याक्कै मिलेको छ ।पत्रकारलाई अप्ठ्यारो पार्ने गरी ओली सरकारले संसदमा विधेयक दर्ता गराएपछि पत्रकार डाको छाडेर रुन थालेका छन् । अहिले सबैले देउवाले त्यो भनाइलाई सम्झिन थालेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि आईतबार दिउँसो एक्कासी मानिसको एक हुल चिच्याउँदै रोएको ठूलो आवाज सुनियो, जुन पत्रकारहरूको समूह थियो । कालो ब्यानर लिएर जिल्ला प्रशासन अघिल्तिर उभिएका पत्रकारको विरोधको शैलीको सबैको ध्यानाकर्षण गरेको थियो ।

संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक हुबहु कानून बनेर आएमा रुनुपर्ने दिन आउने भन्दै नेपाल प्रेस युनियनको मोरङ जिल्ला समितिको अगुवाइमा रोएर सांकेतिक विरोध जनाएको अध्यक्ष कुमार लुँइटेलले बताए ।

‘सरकारले प्रेस स्वतन्त्रता नै कुण्ठित हुने गरी ल्याएको विधेयक संसद्बाट हुबहु पारित भए त्यसले पत्रकारलाई रुने अवस्था ल्याउँछ,’ अध्यक्ष लुइँटेलले भने, ‘त्यसैको विरोधस्वरुप प्रतिकात्मक रुपमा रुने कार्यक्रम राखिएको हो ।’

पत्रकारले आईतबार जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा रोएर विरोध गरेका छन् । प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरेले मिडिया कानून पारित भए स्वतन्त्र प्रेस जगतको खिल्ली उड्ने तर्क गरेका छन् ।

सरकारले राम्रा काम गर्न नसकेको भन्दै यसको विरोध गर्छन् भनेर प्रेसलाई ठीक पार्ने रणनीतिमा ओली नेतृत्वको सरकार रहेको टिप्पणी गरेका छन् ।

‘हत्यारा, गुण्डा, लुटपाट मच्चाउनेलाई ठीक पार्ने नीति खोइ ?’ उनले प्रश्न गरे, ‘सरकारले जे गर्न नहुने हो त्यही गरिरहेका प्रष्ट छ ।’ नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले प्रेस अधिकार नै हनन् हुने कानूनले पत्रकारले गरिखाने बाटो नै बन्द हुने बताए । प्रेसलाई कस्ने र नियन्त्रण गर्ने गलत मनसाय राखेको भन्दै देशभरका पत्रकार आन्दोलित बनेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।