राष्ट्रपति स्वदेश फिर्ती : एयर चाइनाको विमान उतै फर्कियो, हिमालयन एयरलाइन्स भारत

काठमाडौं, बैशाख १८– राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डौको आकाश खाली गराइएको छ ।चीनको साताव्यापी भ्रमण टुंग्याउँदै राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भए ।चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएकी राष्ट्रपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि पनि धेरैबेरमा अरु जहाजले पालो पाएका छन् ।राष्ट्रपतिको जहाजभन्दा पहिले नै चीनको चेङ्दुबाट आएको एयर चाइनाको जहाजले तीन फन्को लगाउँदा पनि अवतरणको पालो नपाउँदा उतै फर्किएको छ ।

यस्तै कतारको दोहाबाट आएको हिमालयन एयरलाइन्स भारततिर फर्किएको छ । वीरगञ्ज र हेटौँडाको आकाशमा चार फन्को लगाउँदा पनि पालो नपाएपछि जहाज फर्किएको हो ।मुम्बइबाट आएको इथोयोपियन एयरलाइन्स पनि निकैबेर आकाशमा फन्को लगाएको छ । राष्टपति भण्डारी चीन जाने बेलामा पनि झण्डै ४० मिनेट उडान र अवतरण ठप्प भएको थियो ।

राष्ट्रपतिको सवारीको बेला हवाइ उडान र सडक यातायात ठप्प बनाउँदा यात्रुले हैरानी खेप्ने गरेका छन् । यसको तीव्र आलोचना भैरहे पनि सम्बन्धित निकायले ध्यान दिएका छैनन् । उज्यालोमा खबर छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।