अमेरिकामा उबर चलाउने नाथनले दुई दिनमा बनाए ३ राष्ट्रिय कीर्तिमान

२३ अप्रिल,सिड्नी ।

अमेरिकाको न्युयोर्क शहरमा उबर चलाउँदै आएका फुदोर्जी शेर्पाका छोरा नाथन दोर्जी शेर्पाले नेपालगञ्जमा भइरहेको आठौं बृहत राष्ट्रिय खेलकुदको दोस्रो दिन पनि नयाँ राष्ट्रिय कीर्तिमान सहित एक स्वर्ण जितेका छन्।सोमबार ४ सय मिटर फ्रिस्टायलको स्पर्धामा नाथनले ४ मिनेट ३३ दशमलव ०९ सेकेन्डको समय निकाल्दै ‘सर्ट कोर्ष’ मा स्थापित नयाँ कीर्तिमान बनाए। आइतबारदेखि सुरु भएको पौडीतर्फको स्पर्धामा नाथनले यसअघि ८ सय मिटर फ्रिस्टायल र २ सय मिटर बटरफ्लाईमा नयाँ कीर्तिमानसहित स्वर्ण जितेका थिए।

८ सय मिटर फ्रिस्टायल नाथनले ९ मिनेट १७ सेकेन्डमा पुरा गर्दै ‘सर्ट कोर्ष’ मा नयाँ कीर्तिमान बनाएका थिए। उनले २ सय मिटर बट्रफ्लाई २ मिनेट १८ दशमलव १० सेकेन्डमा पुरा गर्दै ‘सर्ट कोर्ष’ मा नयाँ कीर्तिमान बनाएका थिए। सोमबार नाथनले गैरआवासीय नेपालीको तर्फबाट प्रतिस्पर्धा गर्दै एपिएफका नासिर हुसेनलाई पछि छोडे। नासिरले ४ मिनेट ३९ दशमलव ४७ सेकेन्डमा दौड पुरा गर्दै रजत जिते।

उर्गेन महर्जनले एपिएफका लागि ५ मिनेट शुन्य १ मिनेट दशमलव ५० सेकेन्डसहित कास्य जिते। पहिलो पल्ट गैरआवासीय नेपाली (एनआरएन) लाई पनि सहभागी गराइएको आठौं बृहत राष्ट्रिय खेलकुदमा विदेशमै जन्मिएर स्वर्ण जित्ने नाथन पहिलो खेलाडी हुन्। नाथन ७ वर्षको उमेरदेखि अमेरिकाको न्युयोर्कस्थित ‘ट्वीस्टर स्विमिङ क्लब’मा पौडी सिकिरहेका छन्। उनको पहिलो प्रशिक्षक भेर्नी हुन् भने पछि ज्याफ चेनले उनलाई प्रशिक्षण दिएका थिए।

हाल उनको मुख्य प्रशिक्षक ड्रोगोइस हुन्। नाथन हाल न्युयोर्कस्थित एभिएसन हाइस्कुलमा १० कक्षामा अध्ययनरत छन्। उनले आठौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार २ सय मिटर ब्याक स्ट्रोक र १ सय मिटर बट्रफ्लाईमा प्रतिस्पर्धा गर्दैछन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।