सकिएकै हो त भुवन र अनमोलको स्टारडम ?

काठमाडौं । पुराना अभिनेता भुवन केसीले निर्माण गरेको फिल्म यस पटक दर्शकले रुचाएनन् । आफ्नै छोरा अनमोल केसीलाई हिरोमा खेलाएका भुवनको फिल्म अपेक्षा गरिएभन्दा धेरै थोरै व्यापार गर्न सफल भएको छ ।भुवनले निर्माण गरेको फिल्म ‘क्याप्टेन’को कथा र फिल्माङ्कनलाई दर्शकले नरुचाएपछि लगानीमा धक्का पुगेको छ । फिल्म चलाउन भुवनले अनेक तिकडम गरेका थिए । दुई तिहाइको प्रधानमन्त्री ओली  र उनकी पत्नी राधिका शाक्यलाई ‘क्याप्टेन’ हेराएका थिए । यद्दपी केही उपलब्धी हुन सकेन । यसो त यसअघीको चलचित्र ‘ड्रिम्स’ले पनि राम्रो ब्यापार गरेको थिएन । त्यती मात्र होईन अर्का निर्माता संग आर्थिक लेनदेको हिसाबले ठुलै लफडा समेत झेल्नु परेको थियो ।

ओली आफै आएर फिल्म हेर्दा पनि ‘क्याप्टेन’ले कमाल गर्न सकेन । ओलीलाई फिल्म हलसम्म ल्याएर ‘क्याप्टेन’ देखाउन झण्डै तीन हप्तासम्म भुवनले बालुवाटारको चक्कर लगाएका थिए । भुवनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि हलसम्म ल्याएर फिल्म देखाए । तर, कुनै पनि प्रभाव पर्न सकेन । हुन त भुवन आफै पनि नेकपाका नेता हुन् ।

भुवनले बनाउने फिल्म पहिलाको जस्तो राम्रो हुन छाडेको प्रतिक्रिया आउन थालेको छ । भुवनको स्टारडम खस्केको  छ । छोरा अनमोलको फिल्म पनि खासै चल्न सकिरहेको छैन । देशमा केहि हद सम्म अनमोलको फिल्म चले पनि अमेरिका र अष्ट्रेलियामा अनमोललाई रुचाउने दर्शक अत्यन्त न्युन छन् । अष्ट्रेलियामा सन् २०१६ मा चलचित्र ‘ड्रिम्स’को शो मा बाउछोरा नै सिड्नीमा नेपालीको घर र पसल पसल गएर टिकट बेच्न बाध्य थिए । जसबाट पनि यि बाउ छोराको स्टारडम सकिएको ३ बर्ष अघि देखीनै बुझ्न सकिन्थ्यो ।

टिनेजर युवतीहरूमा अनमोल केसीको क्रेज छ । त्यो क्रेजलाई क्यास गर्न भुवनले ठूलै प्रयास गरे । तर, सफल हुन सकेनन् । यतिसम्म कि भुवनले गोपीकृष्ण फिल्म हलमा आएका दर्शकहरूलाई केही समय थुनेर तस्वीर खिचेर आफ्नो फेसबुकमा राखेर भ्रम फिजाउन खोजेका थिए ।

तर, दर्शकहरू भुवन केसीको भ्रममा परेनन् । गोपीकृष्ण मुभिजमा आधा दर्जन फिल्म हल छन् । हलमा ‘क्याप्टन’ मात्रै हेर्न सबै दर्शक आएका होइनन् । हलको मूल गेटमा ताला लगाएर सबै दर्शकलाई एक ठाउँमा जम्मा गराएर फोटो खिचेर फेसबुकमा हाल्नु भुवनको केटाकेटीपना थियो ।

‘क्याप्टन’को गीत राम्रो भएपनि दर्शक तानिएनन् । भुवन र अनमोलमा रहेको घमण्डले पनि ‘क्याप्टन’लाई ठूलो धक्का लागेको छ । आफूलाई मेगास्टार ठान्ने अनमोलले पचास लाखभन्दा कम पारिश्रमिकमा होमप्रोडक्सन बाहिरको फिल्म खेल्न मान्दैनन् । उनको यही अहँता र घमण्डले गर्दा धेरै फिल्म निर्माता र निर्देशकहरू चिढिएका छन् । यसको घाटा स्वयं अनमोललाई पर्ने गरेको छ ।

फुटबलको कथामा बनेको ‘क्याप्टेन’ले शुरुदेखि नै लय पकड्न सकेको थिएन । फिल्म सलल बग्न नसकेको समीक्षकहरूले आफ्नो टिप्पणीमा उल्लेख गरेका छन् । ‘क्याप्टेन’लाई फिल्मका निर्देशक दीवाकर भट्टराईका कारण पनि दर्शकले नरुचाएको आरोप छ । भट्टराईको पनि अहिले सम्म कुनै सफल चलचित्र छैन । सेटिङकै भरमा काम गर्दा गर्दै नबनायिकालाई भने उडाउन सफल भए त्यो उनको लागि चलचित्रले १०० दिन मनाए सरह हो ।

कमजोर अभिनय क्षमताका अनमोलले ‘क्याप्टन’मा अभिनय सुधार हुन्छ भन्ने धेरैको अपेक्षा थियो । तर, त्यो देखिएन । फितलो अभिनय र कलाकारमा हुनुपर्ने गुण अनमोलमा देखिएन । फुटबलको विषयवस्तु भुवनले हचुवाको भरमा ल्याएको धेरैको आरोप थियो।

फिल्ममा नयाँ प्रविधि प्रयोग भएपनि ‘क्याप्टेन’ले लगानी उठाउन सकेन । लगानी उठाउनका लागि भुवन र अनमोलले विदेशमा गएर पैसा संकलन गर्ने योजना बनाएका छन् । बुबा छोराको यो योजना कति सफल हुने हो हेर्न बाँकी छ । यसो त उनीहरुले युकेमा सो गरे पनि अष्ट्रेलियामा अहिले सम्म कुनै सो गर्न सकेनन् । सिड्नी लगायतका स्थानीय आयोजकहरुले फिल्म सोका लागि टिकट बेचे पनि फिल्म सो भने गर्न सकेनन् ।

भुवनले ‘क्याप्टन’ले कमाइ गरेको रकमबाट राज्यलाई कति कर तिरे त्यसबारेमा पनि केही भनेका छैनन् । फेसबुकमा पनि स्टाटस राखेका छैनन् ।

त्यति मात्रै होइन भुवन र अनमोलले मिडियाले आफूहरूको स्टारडमका कारण साथ दिन्छन् भन्ने जुन भ्रम पालेका थिए त्यो पनि यस पटकबाट टुटेको छ । भुवन र अनमोललाई ‘क्याप्टेन’ रिलिजका बेला केही साना स्वरोजगार मुलक अनलाइन र युट्युबले भन्दा राम्रा मिडियाले साथ दिएनन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।