वीरगञ्जका अस्पतालमा छैन बिजुली, प्राधिकरणलाई १५ करोड क्षति

काठमाण्डौ ।

आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा झन्डै २ हजार बिजुलीका पोल ढालेपछि वीरगञ्ज महानगरलगायत बाराका ग्रामीण क्षेत्रमा बिजुली अवरूद्ध भएको छ।नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार वीरगञ्जमा हेटौंडाबाट जाने राष्ट्रिय प्रसारण लाइन र भारतबाट आउने लाइनमा पोल र टावर ढलेका छन्।

‘पर्सामा मात्र ४ सय वटा पोल ढलेका छन्। बाराका गाउँमा १५ सय बढी पोल ढलेको र थुप्रै ट्रान्सफर उडाएको छ। प्राविधिकले अध्ययन गरिरहेका छन्,’ सुवेदीले भने,‘हामी अहिले वीरगञ्जमा भारतबाट ३३ केभीको लाइनबाट बिजुली ल्याउन प्रयास गरिरहेका छौं।’

प्राधिकरणले हावाहुरीले पोल ढाल्दा र ट्रान्सफर्मर उडाउँदा १० देखि १५ करोड बराबरको क्षति भएको जनाएको छ। सुवेदीले पोल र टावर ढलेपछि वीरगञ्जका अस्पतालमा पनि बिजुली अवरूद्ध भएको बताए।

‘उहाँहरू डिजेल वा सोलारबाट चलाइरहनु भएको होला। अस्पताल र खानेपानीलगायत अत्यावश्यक सेवाका लागि आज साँझसम्म बिजुली दिने गरी काम भइरहेको छ,’ सुवेदीले भने, ‘ वीरगञ्जवासी सबैलाई बिजुली दिन त भोलिसम्म लाग्न सक्छ।’

उनका अनुसार बारा सदरमुकाम कलैयाको केही भागमा भने अहिले पनि बिजुली सुचारू छ। तर हुरी प्रभावित गाउँपालिकामा पोल र ट्रान्सफर्म नै क्षति भएकाले बिजुली दिन केही दिन समय लाग्ने प्राधिकरणले जनाएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।