सिन्धुपाल्चोक । विवादस्पद ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रमाथि प्रहरीले छानबिन सुरु गरेको छ । बम्जनका आश्रमबाट उनका अनुयायी हराएको तथा बेपत्ता पारेको एवं यौनहिंसा हुने गरेको आरोप लागेपछि प्रहरीले छानबिन सुरु गरेको हो । सबैभन्दा विवादित बनेको सिन्धुपाल्चोकको आश्रममा प्रहरीले शुक्रबार छापा मारेर सिलबन्दी गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।सो आश्रममा उनले आफ्ना अनुयायी मारेर गाडेको भन्ने आरोप लाग्दै आएको थियो । सिन्धुपाल्चोक जिल्ला अदालतबाट अनुमति पाएपछि जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बम्जनको बाडेगाउँस्थित जंगलको आश्रममा छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीका अनुसार जिल्लास्थित प्रहरी कार्यालय र प्रहरी मुख्यालय काठमाडौंबाट आएका झन्डै ३० जना सम्मिलित प्रहरीको एउटा टोलीले सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रममा अनुसन्धान गरिरहेका छन् ।
आश्रममा गएका बम्जनका अनुयायीहरू त्यहाँबाट नफर्किएको भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । प्रहरीले आश्रममा भइरहेको अनुसन्धान नसकिएसम्म उक्त क्षेत्र सिलबन्दी गरेर काम कारबाही अघि बढाइएको जानकारी दिएको छ । बम्जन भने हाल सिन्धुलीको आश्रममा बस्दै आएका छन् । ‘आश्रमलाई अनुसन्धानको घेरामा राखेर अन्य निगरानीको कामलाई तीव्रता दिइरहेका छौँ,’ प्रहरी उपरीक्षक मरासिनीले भने । उनले हाल छापा मात्रै मारेर विभिन्न अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएको सुनाए ।
मरासिनीले भने, ‘हामीले विभिन्न किसिमका अनुसन्धान प्रक्रिया एकैचोटि अगाडि बढाएका छौँ, विभिन्न किसिमका विवरण सार्वजनिक भएकाले अहिले हामीले अगाडि बढेको प्रक्रियाको निश्चित उद्देश्य के हो भनेर भन्न सकिने अवस्था भने छैन ।’
कानुनी प्रक्रिया पूरा गरेको र व्यवस्थित रूपमै सुरक्षा अधिकारीहरू परिचालित भएकाले आश्रममा बस्दै आएकाहरू र स्थानीय बासिन्दाले कुनै अवरोध नगरेको जानकारी उनले दिए । हाल प्रहरीको एउटा टोली आश्रममा रहेको र आवश्यक परे थप टोली परिचालन हुने जानकारी मरासिनीले जानकारी दिएका छन् ।
तर, विभिन्न किसिमका गम्भीर आरोप लगाइएका बम्जनविरुद्ध भने हालसम्म कुनै पनि किसिमको कारबाही थालिएको छैन । बम्जन आश्रमको खानतलासी गर्न सिन्धुपाल्चोक जिल्ला अदालतबाट प्रहरीले बिहीबार नै अनुमति लिइसकेको थियो । बम्जनका आश्रमविरुद्ध खानतलासी गर्ने कानुनी प्रक्रिया मिलाउने र कारबाही पक्रिया अगाडि बढाउने योजनाको नेतृत्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरिरहेका हुन् । उनले आफँै पलपलको निगरानी राख्दै सो घटनाको जिम्मा सिआइबी प्रमुख निरज शाही, मकवानपुरका एसपी बुद्धि गुरुङ र सिन्धुपाल्चोकका एसपी मरासिनीलाई परिचालन गरेका छन् ।
बम्जनका अनुयायी सञ्चालन वाइबाको हत्यापछि उनको लास सिन्धुपाल्चोकस्थित आश्रममा दफन गरिएको दाबी गरिँदै आएको छ । अर्का अनुयायी सुरेश आले, दुई आनी चुन्मो र डोल्मो पनि सिन्धुपाल्चोक आश्रमबाटै बेपत्ता भएकाले प्रहरीले त्यहीँबाट खोजतलास थालेको हो । तेस्री आनी सरिता बोट पनि बेपत्ता छिन् । तर, उनी कुन आश्रमबाट बेपत्ता भएकी हुन् भन्ने टुंगो छैन ।
मध्य तराईको बाराको एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका कलिला रामबहादुर बम्जनले सन् २००५ मा एकाएक चर्चा बटुलेका हुन् । १६ वर्षीय बम्जनले बारास्थित एक जंगलमा ध्यान गर्न सुरु गरेका थिए । सेतो रङको पातलो कपडा लगाएर ध्यानमा लीन भएको उनको तस्बिर एकाएक भाइरल भएपछि कसैले नचिन्ने किशोर एकाएक विश्वप्रसिद्ध बन्न पुगे । सुरुमा आसपासका स्थानीयवासी उनलाई हेर्न बाराको वनमा गए । त्यसपछि अन्य देशका तीर्थयात्री पनि आउन थाले ।