रवीन्द्र मिश्रले पार्टी कब्जा भन्दै विवेकशील साझा पार्टीबाट उज्ज्वल थापा बाहिरिने

काठमाडौं ।
विवेकशील नेपाल पार्टी र साझा पार्टी एक भएको एक वर्ष नबित्दै विभाजनतिर उन्मुख भएका छन् । दुई पार्टीबीच एकता भएर विवेकशील साझा पार्टी बनेको थियो ।संयोजक रवीन्द्र मिश्रले पार्टी कब्जा गरेको निष्कर्षसहित अर्का संयोजक उज्ज्वल थापा अलग्गिने भएका छन्् । स्रोतका अनुसार थापा निकट ओमप्रकाश अर्याल, रञ्जु दर्शनालगायतले पार्टीबाट अलग भइसकेका छन् । उनीहरू पछिल्लो समय कतै पनि देखिएका छैनन् ।

पार्टी संयोजक रविन्द्र मिश्र, नेता मुमाराम खनाल, प्रवक्ता सूर्यराज आचार्यले एकलौटी ढंगले चलाएको भन्दै अर्का संयोजक उज्वल थापालगायतले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । पार्टी चलाउने यो शैलीले नयाँ परिपाटीसहितको पार्टी नबन्ने असन्तुष्ट समूहको ठहर छ ।

पार्टीभित्र असन्तुष्टि बढ्दै गएपछि देशव्यापी भ्रमण गरेका संयोजक थापाले प्रतिवेदन तयार पार्न लागेका छन् । प्रवक्ता आचार्यले भने पार्टीभित्रको विवाद बाहिर आएजस्तो नभएको दाबी गरेका छन् । पार्टीभित्र यति चरम असन्तुष्टि देखिएको छ कि त्यसलाई अहिले सार्वजनिक नगरिएको मात्र हो । सोही कारण विस्तारै उज्ज्वल थापा निकट नेताहरूले पार्टी छाड्न थालेको स्रोतले बतायो ।

विवेकशील साझाका नेताहरूले आफूहरू वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने बताउँदै आएका छन् । यो पार्टीको प्रतिनिधिसभामा सांसद नभए पनि प्रदेश सभामा भने प्रतिनिधित्व रहेको छ । विवेकशील साझा पार्टीबाट तीनजना प्रदेश सांसद बनेका छन् ।

खासगरी रवीन्द्र मिश्रको कार्यशैलीप्रति नेताहरूको आपत्ति देखिएको छ । उनी धेरै मास भएको सभामा सम्बोधन गर्न जाने, थोरै भएको सभामा नजाने गरेको नेताहरू बताउँछन् । नेपाली कांग्रेस, तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरूको आलोचना गर्दै विवेकशील साझा खासगरी सहरिया मतदाताबीच लोकप्रिय बन्दै गएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले काठमाडौं महानगरको प्रमुखका लागि भएको निर्वाचनमा तेस्रो र चौथो मत प्राप्त गरेपछि दुवै पार्टीबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखैमा एकता भएको थियो ।

एकतापछि मिश्र र थापा संयोजक बनेका थिए । यो पार्टीलाई नेपालबाट विभिन्न काममा विदेश गएका नेपाली युवायुवतीको धेरै शुभेच्छा छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।