हात्ती महोत्सव सम्पन्न, फुटबलको उपाधि एनआईसी एशियालाई

चितवन,

‘समाज, संरक्षण, समृद्धि’ भन्ने नाराका साथ सौराहामा आयोजित १५ औं चितवन हात्ती महोत्सव आज सकिएको छ ।

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा यही पुस ११ गते देखि महोत्सव सुरु भएको थियो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिएको हो ।

समापनका अवसरमा मन्त्री लामा र संघका अध्यक्ष सुमन घिमिरेले हात्ती महोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी हात्ती तथा टिमहरुलाई पुरस्कृत गरेका थिए । आइतबार भएको हात्ती फास्टवाकमा सौराहा बचतको तर्फबाट प्रतिनिधित्व गरेको बिजुलीकली प्रथम भयो भने नाटाको लक्कीकली दोस्रो हुँदा मिनिसो सपिङ स्टोर्सको बम्बोकली तृतीय भए । हात्तीको छावाहरुबीचको फुटबलमा एनआईसी एसिया बैँकले उपाधि जित्यो । फाइनल प्रतिस्पर्धामा एनआईसीले सिजीलाई ५–२ गोल अन्तरले पराजित गर्दै यस वर्षको उपाधि जित्न सफल भयो । एनआईसीको जीतमा सौराहागजले ३ र तेजगजले २ गोल ग¥यो । हात्ती पोलोको उपाधि होटल सेभेनस्टारले चुम्यो ।

आज भएको फाइनल प्रतिस्पर्धामा होटल सेभेन स्टारले एमई टुर्स एण्ड ट्राभललाई ५–३ गोल अन्तरले पराजित गरेको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए । समापनका अवसरमा संघका प्रथम उपाध्यक्ष दिपक भट्टराईले पर्यटन पूर्वाधार निर्माणमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्ने बताए । सोही अवसरमा हात्ती माउतेहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्षेत्रीय होटल संघ चितवनले प्रत्येक वर्ष हात्ती महोत्सव गर्दै आएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको समापन समारोहमा प्रदेश सांसद कृष्ण भुर्तेल, गीता वाग्ले, रत्ननगर नगरपालिका–७ का वडाध्यक्ष राजन भट्टलगायतले मन्तव्य राखेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।