ओली पक्षका कार्यकर्ताद्धारा सुरेन्द्र पाण्डेमाथि चितवनमा आक्रमण प्रयास !

७ मंसिर,काठमाण्डौ ।
नेकपा भित्र बढ्दो तनावका बीच चितवनमा ओली पक्षका कार्यकर्ताले पूर्व मन्त्री एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि आक्रमण प्रयास गरेका छन् । उनकै गृहनगरमा भएको कार्यक्रममा बोल्दा बोल्दै ओली पक्षका एक हुल कार्यकर्ताले पाण्डे बिरुद्ध नाराबाजी गर्दै पाण्डेलाई दुरव्यवहार गरेका थिए । उनीहरुले पाण्डेलाई ओली बिरुद्ध आक्षेप लगाउदै नाराबाजी गरेका थिए ।पाण्डे माधव नेपाल पक्षीय नेता हुन् । अहिले माधव नेपाल र प्रचण्ड पक्ष मिलेर ओली पक्षलाई अल्पमतमा पारेर अप्ठ्यारो पारेको भन्दै ओली पक्ष रुष्ट बनिरहेका बेला यो घटना भएको हो ।
राप्ती नगरपालिकाको विरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै आक्रमण प्रयास गरेका थिए ।

साविक युवा संघ चितवनका नेताहरु केदार आचार्य र तार्केश्वरनाथ सिंह तथा अनेरास्ववियु चितवनका कार्यकर्ताहरु सुरज थपलिया र प्रकाश कालाखेती लगायतकाले नाराबाजी गरेको बताईएको छ ।नगर कमिटीको आधिकारिक भेलामा अन्य ठाउँका कार्यकर्ताहरू आएर बिथोल्ने प्रयास गरेको बताईएको छ । पाण्डे चितवन जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।
यसैबीच सो घटनाको नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् ।

नेपालले आज एक विज्ञप्ति जारी गरी पाण्डेले मन्तव्य दिईरहेका बेला अनाधिकृत रुपमा प्रवेश गरेका केही व्यक्तिहरुले सुनियोजित रुपमा अभद्र व्यवहार र नाराबाजी गरेको भन्दै आपत्ति जनाए । उक्त कार्य गर्ने या गराउने जो सुकै भए पनि कडा कार्बाही गर्न नेता नेपालले ध्यानाकर्षण गराएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।