१८ कार्तिक,काठमाण्डौ ।
केहि दिन अघि छाडा गीत गाउने गरेका र्यापर भनेर चिनिने समिर घिसिङलाई पक्राउ गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएपछि नेपाल प्रहरीले भिटेनलाई खोज्दै हिडेको थियो । उनै समिर घिसिङ प्रहरीको फन्दा पर्ने डरका कारण अदालत पुगेपछि भने उनलाई धरपकड र पक्राउ नगर्न उच्च अदालत पाटनले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा
अन्तरिम आदेश जारी गरेको छ । यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउनसमेत आदेश दिएको छ ।
गीत गाएर विवादमा मुछिएपछि भिटेन भनिने समिर घिसिङ प्रहरीले पक्राउ गर्नुअघि नै उच्च अदालत पाटनमा हाजिर भएका थिए। उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीले भिटेन आफै अदालतमा हाजिर भएको पुष्टि गरे ।
भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निषेधाज्ञासम्बन्धि रिट निवेदन दर्ता गराएका थिए । उता समिरको हालै रिलिज भएको गीत ‘पारा’मा भने छाडा शब्द प्रयोग भएको नेपाल प्रहरीको दाबी छ । एक वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्याप गीत गाएर विवादमा मुछिएपछि भिटेनलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो । त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा कागज गरेर उनलाई रिहा गरिए पनि यसबर्ष पनि समिरले पुनःछाडा शैलीको गीत गाएपछि नेपाल प्रहरीले उनीमाथि अनुसन्धान सुरु गर्ने तयारी गरेको थियो ।








