२ भाद्र,काठमाण्डौ ।
नेपालको राष्ट्रिय झन्डा जलाइएको म्युजिक भिडियो खिच्ने क्यामेरापर्सन पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले क्यामेराम्यान इसाक लिम्बुलाई नखिपोटबाट आज पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार गायक मंगोल ग्याल्जी सहित अन्य ५ जना अझै फरार रहेका छन् । उक्त गीतको भिडीयो मकवानपुरको एक बिध्यालयमा छाँयाकन
गरिएको भिडियोमै देख्न सकिन्छ । ‘मंगोल हप ‘नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन् । ब्राहमण र क्षेत्री जाति विशेषलाई शरणार्थी भन्दै गाली गरेको यस गीतलाई युट्युबमा ५९ हजार बढीले डिसलाइक गरेका छन् । भिडियोमा ढाको टोपी र झन्डाको अपव्याख्या गरिएको छ । भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पृथ्वीनायारायण शाहलगायतको तस्बिर समेत जलाइएको छ ।
उक्त म्युजिक भिडीयोको टोलीलाइ मुलुकी अपराध संहिता २०७४ को दफा १५१ (१) अनुसार मुद्दा चलाउने प्रहरीले जनाएको छ । राष्ट्रिय झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग गर्ने, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउनेजस्ता काम गर्न कानूनले निषेध गरेको छ । यस्ता कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।








