२७ बैशाख,काठमाण्डौ ।
भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ । शनिबार बिहान रिएजेन्ट उपलब्ध भएपछि प्रयोगशाला पुनः सञ्चालनमा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । प्रयोगशालामा पिसिआर परीक्षण गर्ने रिएजेन्ट अभावमा एक सातादेखि कोरोना परीक्षण रोकिएको भरतपुर अस्पतालका सूचना अधिकारी
लिलाधर पौडेलले जानकारी दिए । अहिले स्वास्थ्य मन्त्रालयबाट करिब १३ सय नमुना परीक्षण गर्न पुग्ने रिएजेन्ट उपलब्ध भएको उनले बताए । स्वास्थ्य मन्त्रालयसँग माग गरिए जति रिएजेन्ट उपलब्ध नभएकाले परीक्षण रोकिएको उनले बताए । चितवनमा परीक्षण रोकिएपछि नमुना परीक्षणको लागि हेटौंडा र काठमाडौं पठाईदै आएको थियो ।
चितवनमा २३ चैतमा औपचारिक रूपमा भरतपुरमा कोभिड–१९ परीक्षण प्रयोगशाला शुभारम्भ भए पनि २४ चैतदेखि नियमित रूपमा परीक्षण भएको थियो । यसअघि पनि रिएजेन्टको अभावकै कारण कोरोना परीक्षण रोकिदै आएको छ ।







