२ चैत्र,काठमाण्डौ ।
नाबालिका गायिकालाई जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई नबलपरासीको बयान सकेर पुनःतनहुँ प्रहरीमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले मंगलबार गैँडाकोट प्रहरीले शाहको बयान सकेर तनहुँ पठाएको बताए ।
शाह अहिले तनहुँ प्रहरीको हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ । शाहविरुद्ध पूर्वी नवलपरासीमा पनि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेको छ । जाहेरी परेको पत्र लिएर प्रहरी दमौली आएपछि शाहलाई गत मंगलबार गैँडाकोट पठाइएको थियो ।
शाहविरुद्ध १७ वर्षीया नाबालिगको परिवारले जबर्जस्ती करणी गरेको आरोप सहित ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका थिए । त्यसको चार दिनपछि शाह प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए । पछिल्लो पटक थपिएको १२ दिनको म्याद शुक्रबार सकिदैछ ।








