२ ५ असार,काठमाण्डौ ।
चलचित्र अभिनेत्री तथा निर्मात्री जेनी कुँवरले बिहिबार राती आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी छन् । प्रहरी वृत्त बाँनेश्वरका अनुसार अभिनेत्री कुँवरले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । डिप्रेशनका कारण अभिनेत्री कुँवरले आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
प्रहरीले ‘सुसाइड’ नोटसमेत भेटिएको बताएको छ र नोटमा ‘प्रहरी दाजु यसमा कसैको दोष छैन’ भन्ने वाक्य समेत लेखिएको बुझिएको छ । डिप्रेशनमा रहेकी अभिनेत्री कुँवर पछिल्लो समय पशुपति मन्दिर परिसरमा पनि साधुको अवतारमा बस्दै आएकी थिइन् । अभिनेत्री कुँवरले ‘हलचल’, ‘घायल’, ‘जीवनदाता’, ‘त्यागी मान्छे’, ‘हाम्रो मिलन कहिले हुन्छ’, ‘धुम’, ‘मैदान’, ‘मिस्टर डन’लगायतका दर्जन भन्दा बढी फिल्ममा काम गरेकी छन् ।







