एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दै

६ बैशाख,काठमाडौं
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आज प्रदेशगत रिर्पोटिङ हुनेछ ।

साथै जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजन, उपनिर्वाचनको तयारीलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा अध्यक्ष ओलीले सांगठनिक प्रतिवेदन पेश गर्नु हुनेछ । यस्तै बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपाल खनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय गर्ने बताइएको छ ।

ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए ।

यता एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले आजको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ ।

आइतवार एक अपिल सार्वजनिक गर्दै उहाँले आजका लागि बोलाइएको बैठकले स्थितिलाई थप असहज बनाउने भन्दै रोक्न माग गर्नुभएको हो ।

२०७५ साल जेठ २ गतेको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्नेमा ओलीले त्यसो नगरेको र एउटा पक्षमात्र सामेल भएर फागुन २८ गते निर्णय गरेको बोहोराको अपिलमा उल्लेख छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।