काँग्रेसको भागमा महत्वपूर्ण मन्त्रालय सहित ९ पर्ने

चैत ९ बिहीबार |
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएसँगै सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो । हाल प्रधानमन्त्री दाहालले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।रास्वपा, राप्रपा र नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि उनीहरुले सम्हालेको मन्त्रालय नेतृत्वविहीन बन्न पुगेको छ ।

अब विस्तार हुने मन्त्रिपरिषद्मा एमालेले राजीनामा दिएका आठ वटा मन्त्रालय र गृह मन्त्रालय समेत काँग्रेसले लिने उच्च स्रोतले जनाएको छ ।सम्हालेका अर्थ, परराष्ट्र, महिला तथा बालबालिका, भूमिसुधार, उद्योग, स्वास्थ्य, रक्षासहितका मन्त्रालय अहिले मन्त्रीविहीन अवस्थामा छन् ।

यी बाहेक काँग्रेसले गृहमन्त्रालयमा पनि दाबी गरेको छ । काँग्रेसको भागमा महत्वपुर्ण मन्त्रालय सहित ९ मन्त्रालय पर्ने स्रोतले जनाएको छ ।दाहाल नेतृत्वको सरकारमा काँग्रेसबाट कस्ले नेतृत्व गर्ने भन्नेमा हानथाप शुरु भएको छ ।

पुराना प्रयोग भई सकेका नेताहरुलाई भन्दा नयाँ अनुहारलाई मापदण्ड बनाएर सरकारमा पठाउनुपर्ने चर्चा चलेको छ ।महिलाबाट सीता गुरुङ,आरजु राणा मन्त्री बन्ने पक्कापक्की भएको छ । त्यसैगरि धनराज गुरुङ, राजन केसी मन्त्री बन्ने प्रवल संभावना रहेको बताइन्छ ।

कांग्रेसबाट सरकारमा गृह मन्त्रालय सहित नेतृत्व गर्न उपसभापति पूर्णबहादुर खड्कालाई दवाव परेको छ । अर्थमा गगनकुमार थापाको चर्चा चलेको छ । यद्यपि उनीहरुले मन्त्री नबन्ने बताएका छन् ।

उता, मन्त्रीका लागि गुरुङ, राणा, केसीसहित शेखर कोइराला, विमलेन्द्र निधि, सशांक कोइराला,अर्जुननरसिंह केसी.,मोहन बस्नेत, दिपक गिरी, एनपी साउद, प्रदिप पौडेल, कमला पन्त, कान्तिका सैजुवाल, विरबहादुर बलायर, दिपक खड्का, ऐनबहादुर शाही, प्रकाश शरण महत, किशोरसिंह राठोर, दिलबहादुर लिम्बु, रामहरि खतिवडा लगायत दौंडमा लागेका छन् ।

गृह र अर्थमा सत्ता गठबन्धनमै भिडन्त
अर्थ मन्त्रालय र गृह मन्त्रालयमा नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएका छन् ।

समाजवादीले समेत अर्थ वा गृहमन्त्रालय मध्ये एक पाउनुपर्ने बटमलाइन बनाएका छन् । तर, गृह र अर्थ कांग्रेस र माओवादीले भागबण्डा गर्ने भएकाले समाजवादीले ती दुई मन्त्रालयमध्ये कुनै पनि नपाउने सम्भावना बढेको छ ।

गृह र अर्थमा सत्तागठबन्धनमै भिडन्त रहेको एक नेताले बताए । अर्थ मन्त्रालय माओवादीबाट जनार्दन शर्माले चलाइसकेकाले सो मन्त्रालय माओवादी पुनः लिने पक्षमा छैन ।

यदि माओवादी नेता वर्षमान पुनको स्वास्थ्य राम्रो भएको भए उनले लिने सम्भावना थियो । उनी चीनमा उपचाररत भएकाले अर्थ छोडेर माओवादी गृह लिने दाउमा छ ।

रास्वपाबाट गृहमन्त्रालय प्रधानमन्त्री मातहत आइसकेकाले अरू पार्टीलाई छोड्न नहुनेमा माओवादी नेताहरू एक ठाउँमा उभिएका छन् ।

माओवादीबाट गृहमन्त्रीमा पार्टीका उपमहासचिव एवम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पार्टीका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, लुम्बिनी प्रदेशका पूर्व सभामुख पूर्णबहादुर घर्तीले दाबी गरेका छन् । अभियान टाइम्सका साथमा ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।