मालीमा रहेको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने

फाल्गुण १६ मंगलबार | (रासस/सिन्ह्वा)
संयुक्त राष्ट्रसङ्घ, १६ फागुन : गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ । मालीमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको अनुसन्धान गर्ने जनाएको संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले जनाएका छन् ।ती प्रवक्ताका अनुसार गत हप्ता मालीमा संयुक्त राष्ट्रसङ्घीय मिसनमाथि नै हमला भएको थियो र त्यसमा परेर कम्तीमा पनि १२ जनाले ज्यान गुमाएका थिए ।

मालीको बान्डियागारा भन्ने स्थानमा यहाँका आतङ्ककारी सशस्त्र समूहले आक्रमण गरी १२ जना सर्वसाधारणको ज्यान लिएको थियो ।ती आतङ्ककारीको खोजी जारी राखिएको भए पनि प्रहरीले भेट्न सकेको छैन । उक्त क्षेत्रको कानी बोन्जोन गाउँमा सर्वसाधारणलाई घेराहालेर हत्या गरिएको भन्दै यस्तो जघन्य अपराधको खोजी अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले सो कुराको जानकारी दिनुभएको हो । उहाँले मालीको संयुक्त राष्ट्रसङ्घीय मिसनले यस जघन्य अपराधको अनुसन्धान गर्ने बताउनुभएको हो ।

प्रवक्ता डुजारिकले मालीस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुख एवं संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका विशेष दूत एल गसिम वानेले यस घटनाका विषयमा मालीका अधिकारीसँग भेटवार्ता गरिसक्नुभएको र यस जघन्य अपराधको अनुसन्धानका लागि आवश्यक पहल पनि थाल्नुभएको बताउनुभएको थियो ।

मालीमा सशस्त्र समूहले हिंसात्मक क्रियाकलापलाई जारी राखेपछि शान्तिवार्ताका माध्यमबाट समस्याको समाधान गर्न संयुक्त राष्ट्रसङ्घले पहल गरेको भए पनि सफल हुन सकेको छैन ।यहाँ शान्ति स्थापनाको प्रयासका लागि संयुक्त राष्ट्रसंघीय शान्ति सेना रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।