प्रचण्ड अब ५ दिन जापानमा

११ साउन,काठमाण्डौ ।
भारत भ्रमणबाट फर्किएको लगतै केहि साता पछि नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) जापान आउने भएका छन्। सत्तारुढ दलका एक प्रमुख नेता समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिक जापान आउने भएका हुन्।नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण श्रृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए । प्रचण्डले जापान रहदाँ जापान सरकारका उच्च अधिकारीहरु संग भेटघाट हुने पन्तले बताए।

जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील मंच जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ताको रूपमा प्रचण्डले सहभागिता जनाउने मंचका महासचिव बाबुराम पौडेलले जनाए ।

उनका अनुसार अगस्ट ७ तारिक टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५:३० बजेदेखि सो अन्तरक्रिया कार्यक्रम हुने छ। नेपाल जापान सम्बन्धमा टेवा पुर्याउने उदेश्यले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरि द्वीपक्षीय सम्बन्धका विषयमा छलफल हुने पनि बताईएको छ ।

त्यस्तै प्रचण्डको गृह जिल्ला चितवन रहेको र उनि त्यहि बाट प्रतिनिधी सभामा निर्वाचित भएको हुदाँ चितवन समाज, जापानले पनि प्रचण्ड संग भेटघाट कार्यक्रम गर्ने र त्यस्का लागी व्यवस्थापनमा जुटिएको चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले बताए। प्रचण्ड लगाएतको टिमसंग नेपाली समुदाय र जापनिज समुदाय संग थप कार्यक्रम तय हुन सक्ने बताइएको छ। साथै प्रचण्डलाई जापानमा रहेका नेपाली समुदायले भोग्न परेको बिभिन्न समस्याहरु पनि नेपाली समुदायले राख्ने छन्।

जापानमा अध्ययन, रोजगारी अनि व्यवशायमा लागेका १ लाखको हाराहारीमा नेपालीहरु रहेको तथ्याङ्ग छ। जापान रहदाँ प्रचण्ड लगाएतको टिमले जापानको एतिहासिक एवं उत्कृष्ट गन्तव्यहरुको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।