श्रीलंकामा पुनः इन्धन र ग्यास वितरण सुरु

२८ असार,काठमाण्डौ ।
श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास पुनः वितरण सुरु भएको छ । इतिहासकै खराब आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन पुनः वितरण भएको हो ।सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा इन्धन भर्नेको भीड देखिन्थ्यो । इन्धन वितरण भएपछि महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत अनुभूति गरेका छन् ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । अत्याधिक मुद्रास्फीतिले मूल्यवृद्धि गरेको छ । देशको विदेशी मुद्रा सञ्चिति सबै सकिएको छ । खाद्यान्न, इन्धन र औषधि आयात गर्न टापु देशले ठूलो संघर्ष गरिरहेको छ ।

संकटका कारण क्रुद्ध बनेका सर्वसाधारण यसै सप्ताहन्तमा राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका थिए । राष्ट्रपतिले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।