अभिनेता रमेश उप्रेतीको कुतर्क विचार

२४ बैशाख,काठमाण्डौ ।
महिला हिंसाका घटनामा अति संवेदनशील देश अमेरिकामा बसेर फर्किए पनि चेतनास्तर जहाँको त्यही भएपछि कसको के लाग्छ र। भनिन्छ नि बर्मा गए पनि कर्मसँगै। हो त्यस्तै व्यवहार देखाए अभिनेता रमेश उप्रेतीले। लामो समय अमेरिका बसेका उनको दैनिकी उही स्टोरतिरै बितेको, अमेरिकी समाजबारे सामान्य जानकारी समेत लिन नसकेको आफ्नै बोलीले पुष्टि गरिदिए उनले बलात्कारबारे आफ्नो नीच धारणा सार्वजनिक गरेर।नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा परेका अभिनेता पल शाहको पक्षमा आफ्ना धारणा राख्नेक्रममा बलात्कारबारे उनमा कति सङ्कुचित सोच रहेछ भन्ने देखियो नै आफ्नै देशको कानुन अनि बालिग र नाबालिगको बलात्कारबारे समेत जानकार देखिएनन् उनी।

एक टेलिभिजन कार्यक्रममा उनले पलको वचाउँमा बोल्नेक्रममा बलात्कार हुने बित्तिकै कराउन र चिच्याउनु पर्‍यो मात्रै भनेनन् तत्काल भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्ने सुझाव समेत दिए। उनको धारणा अनुसार एक वर्षपछि उजुरी दिएर हुँदैन अनि, हरेक ठाउँमा बलात्कार पनि हुँदैन।

उनी यतिमै अड्किएनन्। भने’ कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार भन्नु राम्रो होइन।’उनले नाबालिग र पल शाहबिच सम्बन्ध भएको हुनसक्ने तर त्यसैलाई बारम्बार बलात्कार भन्न नमिल्ने कुतर्क पनि गरे। उनले पल पीडक हुँदै नभएको अनि ठुलो अपराध पनि नगरेको ठोकुवा नै गरे।

नेपालको कानुनमा १८ वर्ष मुनिका नाबालिगसँग उसको सहमतिमै सम्बन्ध राखे पनि त्यसलाई कानुनले बलात्कार भन्ने अनि घटनाको एक वर्षभित्र जाहेरी दिन मिल्ने कानुनी व्यवस्थाबारे उनी जानकार रहेनछन् भन्ने उनकै अभिव्यक्तिले देखायो।

यति मात्रै हैन हरेक बलात्कारको घटनामा पीडित चिच्याउने र कराउने नै गर्छन् भन्ने हुन्न कुनै परिस्थितिमा प्रतिरोध गर्दा ज्यान जाने जोखिमका कारण सरेन्डर गरेर पनि पछि जाहेरी दिनु सामान्य हो भन्ने त उनले कसरी बुझ्न सकुन् र। यस्तै धारणा यस अगाडि अभिनेत्री पूजा शर्माले पनि दिएकी नै हुन्। त्यसमा उनी मिसिएका न हुन्।

उनलाई पलको प्रतिरक्षा गर्नै मन थियो भने नाबालिग र उनको परिवारले वकपत्रमा हैन भनेको विषय उठान गरेको भए भइहाल्थ्यो। जान्ने भएर किन बलात्कार विज्ञ बन्दै कस्तो चैँ बलात्कार हो अनी कस्तो चैँ हैन भन्दै जानकारी नभएको विषयमा प्रवेश गर्नु ! यसले नेपाली कला क्षेत्रमा रहेका पुरुषहरुको निच सोच उदांगो बनाउने बाहेक के नै योगदान गर्‍यो र।धन्न उनको यो कुतर्क फिल्म नगरीका अभिनेत्रीहरूले चुपचाप सुनेर भने बसेनन्। अभिनेत्री स्वस्तिमा खड्का अनि बेनिशा हमालले उनको कुतर्कको प्रतिवाद भने गरे।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।