स्थानीय निर्बाचनःश्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

१९ बैशाख,काठमाण्डौ ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुखको उम्मेदवार भएका छन् ।राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरी, भाइबुहारी, सालीदेखि गर्लफ्रेन्डका छोरीलाई समेत उम्मेदवार बनाउन सफल भएको बताइएको छ । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाएका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले आफ्ना श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । श्रीमती सिर्जना सिंहलाई उनले उम्मेदवार बनाएका हुन् ।कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेकी उनी महानगरमा सार्वजनिक सरोकारमा सक्रिय नभए पनि मेयरको उम्मेदवार हुन सफल भएकी छन् । कांग्रेस वृत्तमा पनि उनको परिचय नेत्रीभन्दा प्रकाशमानको श्रीमती अर्थात् ‘भाउजू’कै रूपमा परिचित छ ।

परिवारवादको प्रभावले टिकट पाउन नसक्दा पाँच वर्षसम्म प्रतिस्पर्धी दल एमालेका मेयर विद्यासुन्दर शाक्यसँग पौठेजोरी खेलेर सम्पदा संरक्षणमा खटेकी उपमेयर हरिप्रभा खड्गीले मेयरको टिकट पाउन सकिनन् । तर, अहिले उनी सिर्जनाको प्रचारक भएर हिँड्न बाध्य छिन् । कांग्रेसका अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले समेत आफ्ना भाइलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् ।

कांग्रेसको जिल्ला सभापतिसमेत रहेका रामकृष्ण खाँणको जिल्लामा राम्रो पकड छ । केन्द्रमा दाइ बालकृष्ण भएपछि उनले मेयरमा आफ्नै नाम सिफारिस गराए । र केन्द्रबाट दाइले टिकट मिलाइदिए । गत निर्वाचनमा उनी मेयरको उम्मेदवार भए पनि पराजित भएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । गत निर्वाचनमा मेयरमा विजयी रेणु सत्तारूढ पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेकी छन् ।

भरतपुरमा राम्रो काम गरेकै कारण उनी मेयरको उम्मेदवार भएकी होइनन् । बुवा नै पार्टीको अध्यक्ष भएपछि उनकै सहयोगमा टिकट पाएकी हुन् । पाँच दलीय गठबन्धनभित्र महानगरको भागबन्डा हुँदा प्रचण्डले भरतपुर छोरीकै लागि आफ्नो पार्टीको भागमा पारेका थिए । यद्यपि, माओवादी जनयुद्धमा रेणुले समेत बुवासँगै संघर्षमा रहेकी थिइन् ।

उता सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाको मेयरमा भाइ कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएका छन् । पाँच दलीय गठबन्धनबाट माओवादीको कोटामा सो नगरपालिका पारेर उनले भाइलाई नै टिकट मिलाइदिए ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ललिपुर महानगरपालिकाको उपमेयरमा साली नाता पर्ने मञ्जली शाक्यलाई उम्मेदवार बनाएका छन् । मेयरमा दाबी गर्दै आएकी मञ्जलीलाई उपमेयरमा टिकट दिइएको हो ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल राजनीतिक दलका शीर्ष नेताहरूले परिवारकै सदस्य वा नाता पर्नेलाई उम्मेदवार बनाउने काम गलत भएको बताउँछन् । राजनीतिमा योग्दान गरेका एउटै परिवारका सदस्य उम्मेदवार हुनु राम्रो भए पनि राजनीतिमा योग्दान नै नभई नातागोतामा परेकै कारण उम्मेदवार बनाउनु गलत भएको उनले बताए ।

पार्टीका शीर्ष नेताले परिवारका सदस्यलाई उम्मेदवार बनाउनुका साथै अधिकांश पालिकामा उपप्रमुखको पदमा स्थानीय नेताकै श्रीमतीहरू उम्मेदवार भएको पत्रकार सञ्जय तिवारीले बताए । श्रीमती, छोराछोरी, भाइबुहारी मात्रै नभई एक नेताले आफ्ना गर्लफ्रेन्डका छोरीलाई समेत उम्मेदवार बनाउन सफल भएको उनले बताए । गर्लफ्रेन्डको छोरीलाई नै उपप्रमुखको उम्मेदवार बनाएपछि जिल्लामा चर्चाको विषय बनेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।