चुनावी तालमेलको मोडालिटी बनाउँदै सत्ता गठबन्धनमा दल

९ चैत्र,काठमाण्डौ ।
सत्ता गठबन्धनमा आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ।सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनावी तालमेलबारे छलफल भएको थियो । सो छलफलमा तालमेलको मोडालिटीका विषयमा पनि छलफल भएको छ । त्यस्तो मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् ।

बैठकमा प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जसपा अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी भएनन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भने पार्टीमा छलफल गरेर तालमेलबारे निर्णय लिने भनेका थिए । उनले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताएका थिए ।सोमबार राति कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमासमेत कांग्रेसका शीर्ष नेताहरू स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । सो छलफलमा आगामी सबै तहका निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच तालमेल गरेर जाने विषयमा छलफल भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले चुनावी तालमेलबारेमा ठोस निर्णय भने ११ चैतमा बस्ने केन्द्रीय समिति बैठकमार्फत गर्ने बताइएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको मोडालिटीबारे छलफल अघि बढेको बताए ।उनले आवश्यकता हेरेर गठबन्धनका बीचमा स्थानीय तह निर्वाचनमा तालमेल हुने जानकारी दिए । ‘सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा स्थानीय तह निर्वाचनमा तालमेलको सम्भावना बढ्यो, कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा आवश्यकता हेरेर निर्णय हुन्छ, त्यसको मोडालिटीबारे छलफल हुँदै छ’ जसपा अध्यक्ष यादवले भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलेसमेत स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुने जानकारी दिए । उनले कसरी र कुन मोडलमा गठबन्धन आबद्ध दलबीच चुनावी तालमेल हुने भन्ने विषयमा खाका बन्दै गरेको बताएका हुन् । ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ, कसरी र कुन मोडलमा गर्ने भन्ने विषयमा गठबन्धनले पनि खाका बनाउँछ, कांग्रेसले पनि केन्द्रीय समितिमा छलफल गर्छ,’ कांग्रेस प्रवक्ता महतले भने ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ११ चैतका लागि कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको र बैठकका लागि तीन एजेन्डा तय गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको तयारी तथा स्थानीय तह निर्वाचनको एकमहिने अभियानको प्रारम्भिक समीक्षा, निर्वाचनका लागि उम्मेदवार छान्न संसदीय समिति गठन र तालमेलसहितका विविध एजेन्डा तय गरिएको हो । –राजधानी दैनिकबाट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।