२३ माघ, काठमाडौं ।
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आईतबार निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।
कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।उपचारका क्रममा केही दिनयता उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । उहाँले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
उहाँले दर्जनौ नेपाली गीतमा समेत स्वर दिनुभएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।








