३ माघ,चितवन ।
धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यापाक अनियमितता भएको भन्दै उनीहरुविरुद्ध छानविन गर्न माग गर्दै उजुरी गरिएको हो ।
वाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक(एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरि छानबिन गर्न माग गरेका हुन् ।अधिकारीले दुई पृष्ठ लामो निवेदन सहित आइतबार बिहान अख्तियार आयोग टंगाल काठमाडौँमा निवेदन दर्ता गराएका हुन् ।
‘देश विदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन र भरतपुर महानगरपालिका लगायतका सरकारी कार्यालयबाट ५७ करोड भन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इञ्जिनियरहरुबाट मूल्याङकन गर्दा १७ प्रतिशत पनि निर्माण कार्य पुर्ण नगरि उल्टै १७ करोड ऋण तिर्न पर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरुलाई पक्राउ गरि आर्थिक अपचलन र ठगी मुद्धा माग गर्दर्छु’ उनले निवेदनमा लेखेका छन् ।
क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघलाई नजर अन्दाज गरि रंगशाला निर्माण गरि भारत र पाकिस्तानको खेल गराउँछु भन्दै कहिले रुदै कहिले हास्दै विभीन्न नाटकवाजी र पप्रोगान्डा गर्दै सामाजिक अभियन्ता बनेर करौंडौ रकम उठाएको उनले आरोप लगाएका छन् ।उनले निवेदनमा थपेका छन् , ‘दम्पतीको निजी सम्पती र जीवन शैलीको बारेमा विभीन्न टिकाटिप्पणी हुँदै गर्दा पनि कुनै सरोकारवाला निकायहरुले ध्यान नदिईदा नेपालमा समाज सेवा भन्ने शब्द नै विकृत बन्दै गएको अवस्थामा निजहरु माथि अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याइयोस’ ।
सामाजिक सञ्जालको दुरुप्रयोग गर्दै मोटो रकम उठाएर व्यापक भष्टचार गरेकोले कारवाही गर्न माग गर्दे आफू अगाडि सरेको उनको भनाइ थियो । आइतबार धुर्मुस सुन्तली विरुद्ध दर्ता गरिएको निवेदन पत्रको दर्ता नं अ०२३५०३ –०७८–१०–०२ /०१५२६२३८५ रहेको अधिकारीले बताएका छन् ।








