कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप सिङ्गारियो

२३ मंसिर,काठमाण्डौ ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ ।आम सर्वसाधारणको विभिन्न भेला, छलफल र चियागफ तथा भेटघाटको गन्तव्यस्थल बनेको खुला मैदान अहिले रङ्गीचङ्गी तुल, ब्यानरले भरिएको छ । महाधिवेशन उद्घाटनका लागि सो स्थानमा बनाइएको आकर्षक मञ्चले त झनै भृकुटीमण्डपलाई दुलहीझैँ सिङ्गारेको झलक देखिन्छ । हो, अहिले जो–कोहीको ध्यान खिच्ने स्थल बनेको छ कांग्रेस महाधिवेशन उद्घाटनस्थल, बन्दसत्र तथा मतदानस्थल ।

पार्टीका सभापति, महामन्त्री, केन्द्रीय सदस्यलगायत विभिन्न पदका आकाङ्क्षी उम्मेदवारका तुल, ब्यानरले उक्त क्षेत्र झकीझकाउ भएको छ । यसले महाधिवेशनको रौनक थपेको छ । त्यहाँ पुग्ने जो–कोहीले मोबाइलमा तस्वीर कैद गरिरहेका देखिन्छन् धेरैले मञ्चको सेल्फी लिइरहेका भटिए । महाधिवेशन प्रतिनिधिमात्रै होइन, सर्वसाधारणको ध्यान पनि मञ्चले खिचेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।