११ मंसिर,काठमाण्डौ ।
ललितपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिएका छन् । नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत रहेको
बताए ।नेकपा एकीकृत समाजवादीको गोदावरी नगरकमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । अध्यक्ष नेपालले विद्रोहको जगमा निर्माण भएको एकीकृत समाजवादी पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिस्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत् कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए । परिवर्तन पक्षधर शक्तिहरूको गठबन्धनले दक्षिणपन्थी गठबन्धनलाई आगामी राष्ट्रिय सभा निर्वाचनबाटै परास्त गर्न सुरु गरेर तिनै तहका निर्वाचनमार्फत पराजित गर्ने ठोकुवा गरेका हुन् ।
नेकपा एमालेको १०औं महाधिवेशनको सन्दर्भमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले कम्युनिस्ट आन्दोलनको लिकबाट बाहिरिएको बताउँदै ओलीले विभिन्न शक्तिहरूको डिजाइनमा कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको बताए । अध्यक्ष नेपालले भने, ुचितवनमा ओलीको प्रशंसा कसकसले गरे त्यसैबाट ओलीको कस्तो गठबन्धन छ प्रस्टै भएको छ ।
राजतन्त्र पक्षधर र देशलाई विखण्डन गर्ने एवं संविधान च्यात्नेहरूले ओलीको प्रशंसा गरेकोले अहिलेको द्वन्द्व परिवर्तन पक्षधर र परिवर्तन विरोधी शक्तिबीचको भएको बताए ।एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले ओली र एमाले कम्युनिस्ट नभएको बताएका छन् ।
खतिवडाले उनीहरू आफैं सिद्धान्त विचार र निष्ठा सकिएकाले नाम र चुनाव चिन्ह मात्रै भजाएर जनता लोभ्याउँदै हिँडेको बताए । भाडाका मान्छेको ताँती लाएर ओलीको पूजा गरेर कम्युनिस्ट आन्दोलन नजोगिने बताए ।कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले एमालेले धम्की र प्रलोभन देखाएर जनप्रतिनिधिलाई अलमल्याएको बताउँदै निर्वाचनबाट कम्युनिस्ट र गैर कम्युनिस्टलाई जनताले छुट्याउने बताए ।







