७ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् ।चितवनमा आयोजित एक कार्यक्रममा उनले सो कुरा उद्घोष गरेका हुन् । उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे ।
उनले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताईन् । यी क्षेत्रमा रु चार अर्बको लगानी हुने उहाँको भनाइ थियो ।
किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उहाँले बताईन् । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।







