५ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र जनयुद्धपछि भएको विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गरेका छन् । नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध अन्त्य गर्नका लागि गरिएको विस्तृत शान्ति सम्झौता १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले सशस्त्र यद्धबाट भएको राजनैतिक
उपलव्धीप्रति गर्व गर्दै भएका कमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका छन् ।युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रिया टुङ्गोमा पु¥याई समाजमा मेलमिलाप कायम गर्ने काम बाँकी नै रहेको प्रचण्डले उल्लेख गरेका छन् ।
उनले शान्ति प्रक्रियाको मामिला सरकारको मात्र नभई राज्यकै हो भन्दै यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष एकमत रहेको पनि बताए । ‘‘र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं’ उनले भनेका छन् ।
प्रचण्डले शहीद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संसदको आगामी अधिवेशनबाट टुंगोमा पुर्याउने पनि बताएका छन् ।







