आज १३ जिल्लामा नेपाली कांग्रेस वडा अधिवेशन हुदै

२७ कार्तिक, काठमाडौं।
क्रियाशील सदस्यता वितरण विवाद हल हुन नसकेपछि नेपाली कांग्रेसले बाँकी १३ जिल्लामा आज वडा अधिवेशन गर्दैछ ।गूटगत विवादमा फसेको कांग्रेसले पटक पटक सार्दा पनि १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन नै गर्न नसकेपछि शनिबार १३ जिल्लामा अधिवेशनमार्फत् क्षेत्रीय प्रतिनिधि चुन्न लागेको हो । यसअघि अधिवेशन सकाइएका वडाहरुमा पनि पटक पटक गरी अधिवेशनको मिति तोकिएको थियो । विवादित बनेको रौतहटको सदस्यता सूची टुंग्याएसँगै ७७ जिल्लाको सदस्यता सूची टुंगिएको र यसले अब महाधिवेशनको सुनिश्चितता बढेको प्रतिक्रिया नेताहरुले दिएका छन् ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नं २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन प्रारम्भ हुँदैछ ।

यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । समितिका संयोजक महादेवप्रसाद यादवले भने अर्काे निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन प्रारम्भ गर्ने जानकारी दिनुभयो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भन्दै शनिबार १३ जिल्लामा वडा अधिवेशन गराउन लागेको जानकारी दिनुभएको हो ।वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँरनगर पालिका अधिवेशन कार्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका निकालेको छ ।

प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४–२६ काठमाडौंमा गरिने छ । चार वर्षे पदावधि भएको वर्तमान कांग्रेस कार्यसमतिले ६ वर्ष हुँदा पनि आफ्नो अधिवेशन सम्पन्न गर्न नसक्दा संवैधानिक संकटमै परिसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।