१२ साउन, काठमाडौं ।
नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो ।क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज पार्टी सभापति एवं
प्रधानमन्त्रीशेरबहादुर देउवालाई आज बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् । जसमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला एक लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन् । कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६, वाग्मती प्रदेशमा एक लाख ८६ हजार १४३, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८८५, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ रहेका छन् ।
क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार कांग्रेस क्रियाशील सदस्यमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४, ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४, ६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० र ७५ वर्षभन्दा बढी उमेर समूहका ११ हजार ७७२ जना रहेका छन् ।








