एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको छलफल

३ साउन,काठमाण्डौ ।
नेकपा (एमाले) प्रवेश गरेका पूर्वमाओवादी नेताहरूसँग नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले छलफल गरेका छन्। एमाले नेता लेखराज भट्ट निवासमा भएको छलफलमा भट्टसहित  टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहसँग विप्लवले छलफल गरेका हुन्। पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट्ने क्रममा विप्लवले आइतबार दिउँसो एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूलाई भेटेका हुन्। पूर्वसहकर्मीको रुपमा पूर्वमाओवादी नेताहरूसँग भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गरेको विप्लव नेतृत्वको नेकपाका एक नेताले बताए। ‘कुनै एउटा विषयमा केन्द्रित भई छलफल भएको होइन। अहिलेको राजनीतिक परिस्थितिका विभिन्न विषयमा छलफल मात्रै भयो’ ती नेताले भने, ‘यसअघि पुराना सहकर्मी समेत भएकाले विगतका कुरा समेत सम्झने कुरा भयो।’

एमाले प्रवेश गरेका माओवादी नेताहरू प्रवेश गरेको नयाँ पार्टी छोड्ने अवस्था नभएको ती नेताले बताए। ‘एमाले भर्खर प्रवेश गर्नु भएको छ। नयाँ पार्टीलाई बुझ्दै हुनुहुँदो रहेछ’ ती नेताले भने, ‘अहिले नै हामीसँग सहकार्य वा एकता गर्ने भन्ने कुरा सजिलो छैन। त्यो भेटघाटलाई अन्यथा लिनहुँदैन।’

माओवादीबाट एमाले प्रवेश गरेका नेताहरू विचारबाट निकै टाढा गइसकेकाले सहकार्यको सम्भावना नै नभएको ती नेताले दाबी गरे। विप्लवले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्यलगायत नेताहरूलाई भेटिसकेका छन्।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।