म्यान्मारको सेनामाथि फेसबुक र इन्स्टाग्रामले लगायो प्रतिबन्ध

एजेन्सी,काठमाण्डौ ।
फेसबुकले म्यान्मारको सेना तथा उनीहरुको सहयोगीहरुलाई आफ्नो प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाएको छ । म्यान्मारको सेनालाई फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्न दिनु अत्यन्तै जोखिमपूर्ण रहेको फेसबुकले बताएको छ ।गत १ फेब्रुअरीमा सेनाले सत्ता हत्याएपछि फेसबुकले आफ्नो निर्देशिकाको उल्लंघन गरेको भन्दै सेनाको मुख्य पेजमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । म्यान्मारको सेनाले सन् २०२० को चुनावमा धँधली भएको भन्दै फेसबुकमार्फत प्रचार प्रसार गर्दै आएको थियो ।फेसबुकले बुधबार राति एक वक्तव्य जारी गर्दै सैन्य ‘कू’ पछि भएको हिंसाका घटनालाई मध्यनजर गर्दै यो प्रतिबन्ध आवश्यक रहेको महसुस गरेको जनाएको छ । सैन्य कूको विरोधमा म्यान्मारमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म तीन जना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ ।

फेसबुकले यो प्रतिबन्ध अनिश्चितकालका लागि भएको उल्लेख गर्दै तत्कालको प्रभावका कारण लागू गरिएको जनाएको छ । अनलाइनमार्फत व्यक्त गरिने असन्तोषलाई दबाउनका लागि म्यान्मारको सेनाले बेला–बेला इन्टरनेट बन्द गर्ने तथा फेसबुक चलाउन प्रतिबन्ध लगाउने कार्य गर्दै आएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।