टोकियो जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको एएफपीले जनाएको छ।
आफ्नी आमाको मृत्यु भएको थाहा पाएपछि आफू घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएकी छन्।
एएफपीका अनुसार ४८ वर्षीया युमि योशिनोलाई आफ्नी आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आरोपमा पक्राउ गरिएको हो।
महिलाको दाबीअनुसार त्यो मृत शरीर एक दशक पहिलेदेखि टोकियोको एक अपार्टमेन्टमा फ्रिजभित्र राखिएको थियो। योशिनोलाई शुक्रबार टोकियो नजिकैको चिबा शहरको एउटा होटलमा पक्राउ गरिएको बताइएको छ।
मृत्यु हुँदा ती महिलाको उमेर ६० वर्ष रहेको हुनसक्ने र महानगरीय ‘हाउजिङ् कम्प्लेक्स’मा उनकै नाममा कोठाहरू भाडामा लिएको पाइएको क्योदो न्यूज एजेन्सीले समाचारमा लेखेको छ। शव फ्रिजमा फिट गर्न झुकाइएको अवस्थामा राखिएको अवस्थामा एक कोठामा भेटिएको प्रहरीलाई उद्धृत गरी जीजी प्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ।
समाचारहरूमा जनाइएअनुसार योशिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो। त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेला पारेका थिए। शवको परीक्षण (अटोप्सी) बाट महिलाको मृत्युको कारण र मृत्यु भएको समय पत्ता नलागेको तर ती महिलाको शरीरमा देखिने खालको चोटहरू नभेटिएको उल्लेख गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।







