लकडाउनको विरोधका लागि चुम्बन

१८ पुष,एजेन्सी : कोरोना महामारीका कारण विश्वका थुप्रै मुलुकमा विभिन्न खाले प्रतिबन्धहरु लगाइएका छन । सार्वजनिक स्थान, होटल, रेष्टुरेन्ट, नाइट क्लब, सिनेमाहललगायतका स्थानहरुमा अहिले पनि प्रतिबन्ध जारी रहेका थुप्रै उदाहारणहरु देख्न पाइन्छ । कोरोना महामारीबाट जोगिन भन्दै राज्य स्तरबाट जारी गरिएका यस्ता प्रतिबन्धहरुविरुद्ध नागरिक तहबाट चर्को विरोध पनि भैरहेका छन । लकडाउनविरुद्धका विरोधहरु विभिन्न मुलुकमा आ–आफ्नै शैलीमा प्रकट भएको देख्न सकिन्छ । त्यस्तै रुसमा पनि लकडाउनविरुद्ध अनौठो खालको विरोधको शैली देखियो । लकडाउनलगायतका विभिन्न प्रतिबन्धात्मक ब्यवस्थाहरुको विरुद्ध उभिएका युवा युवतीहरुले चुम्बनलाई विरोधको उपाय बनाएका छन ।

उनीहरुले यात्रुहरुले खचाखच भरिएका मेट्रो रेल भित्र एक आपसमा चुम्बन गरी लकडाउनलगायतका विभिन्न प्रतिबन्धात्मक ब्यवस्थाहरुको विरोध गरेका हुन । रुसको एकातेरिनवर्ग शहरका युवा युवतीहरुको जोडीहरुले यस्तो विरोधको शैली अपनाएका हुन । उनीहरुले कसैको भावनामा ठेस पुर्याउने र सार्वजनिक सेवाहरुमा अवरोध खडा गर्ने आफुहरुको उद्देश्य नभएको बताएका छन । कोरोनाको कारण देखाउँदै जारी गरिएको लडकाउनलगायतका विभिन्न प्रतिबन्धात्मक ब्यवस्थाको मात्रै विरोध गरेको उनीहरुको तर्क छ ।

सरकारी पाबन्दीहरुको विरोध गर्दै आएको चुम्बन समुहका सदस्यहरुले विभिन्न सांगीतिक कार्यक्रम, नाइट क्लब, रेष्टुरेन्ट, सन्ध्याकालिन फिल्म प्रदर्शनलगायतका क्षेत्रमा लगाइएको प्रतिबन्धको विरोध गरेका छन । यात्रुहरुले खचाखच भरिएको मेट्रोमा प्रतिबन्ध नलाउने तर त्यो भन्दा सुरक्षित क्षेत्रहरुमा प्रतिबन्ध लगाइएको भन्दै युवा युवतीहरुको थुप्रै जोडीहरुले चुम्बनसहितको विरोध प्रकट गरेको टाइम्स नाओ न्युजले जनाएको छ ।

कोरोना महामारीका कारण विश्वभर रात्रीकालिन सेवाहरु बढी प्रभावित भएका छन । कोरोना प्रकोप अघि ब्रिटेनको म्युजिक ईन्डष्ट्रीको आर्थिक बृद्धिदर ११ प्रतिशत रहेको थियो । ब्रिटेनको अर्थतन्त्रमा यसले ६ बिलियन पाउण्डको योगदान गरेको थियो । तर कोरोना प्रकोपका कारण अहिले ३ बिलियन पाउण्डमा झरेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।