२७ मंसिर,काठमाण्डौ ।
अपारदर्शी आर्थिक चलखेलको भण्डाफोर भएको अडियो सार्वजनिक भएपछि सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको दौडधुप सुरु भएको छ । पार्टीभित्रैबाट राजिनामा दिनुपर्ने माग जोडदार रुपमा उठेको हो । राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको छ । उनले राजीनामा दिनुपर्छ भनी नेकपाभित्र तथा सार्वजनिक रुपमा
व्यापक आवाज उठिरहेको छ ।अहिले उठेका प्रश्नहरुको निरुपण भएपछि नारायणकाजीले पनि राजनीतिमा पुनरागमन गर्न सक्ने तर हालका लागि राजीनामाको विकल्प छैन भनी नेकपाभित्र माग उठेको छ । तर, नारायणकाजीले पद जोगाउन अभियान थालेका छन् । उनले बिहीबार राति पूर्व जनमोर्चाका नेता कार्यकर्ताहरुको भेला आफ्नो निवासमा बोलाएका थिए । निकटहरुको भेलामा नारायणकाजीले आफूलाई डुबाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल लागिपरेको बताएका छन् । बादलले आफूलाई मात्र नभएर पूर्व जनमोर्चाका कसैलाई बाँकी नराख्ने पनि नारायणकाजीले बताएका छन् ।
राजीनामाबाट जोगिन नारायणकाजी आज बिहानै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । स्रोत अनुसार माधवकुमार नेपाल र झलनाथ खनाल पनि प्रचण्ड निवास पुगेका हुन् । प्रचण्ड निवास निकट स्रोतका अनुसार नारायणकाजी बिहानै प्रचण्डकोमा पुगेका हुन् ।
निवासमा प्रचण्डलाई भेट्न पुगेका कार्यकर्ताहरुलाई बाहिर राखेर प्रचण्ड र नारायणकाजी बीच एक घन्टाभन्दा धेरै एकान्त वार्ता भएको छ । त्यसपछि उनीहरुको वार्तामा माधव र झलनाथ मिसिएका थिए । नैतिकताको प्रश्न उठेपछि नेकपाका नेताहरु शेरबहादुर तामाङ, कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । उनीहरु तीनैजनाले सफाई पाइसकेका छन् र शानदार ढंगले राजनीतिमा पुनरागमन पनि गरिसकेका छन् ।








