२४ मंसिर,एजेन्सी ।
बेलायतमा ९० वर्षीया वृद्धले अनुमति प्राप्त विश्वको पहिलो कोभिड–१९ विरुद्धको खोप लगाएकी छिन् । बेलायतको यस कदमलाई एक महत्वपूर्ण उपलब्धि मानिएको छ । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु
भएको हो ।बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान शुरु गरेको छ । मार्गरेट किनन नाम भएकी ती वृद्ध आगामी साता ९१ वर्षमा लाग्दैछिन् । उनी पिफिजर कोभिड–१९ खोप लिने विश्वमै पहिलो व्यक्ति बनेको बिबीसीले जनाएको छ । किननले यस कदमलाई उत्कृष्ट जन्मदिनको उपहार बताएकी छिन् ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) विभागले ५० अस्पतालमा आज बिहानैबाट सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको बताइएको छ, र खोप ८० वर्ष नाघेका, कमजोर तथा सीमावर्ती अस्पताल र केयर होम कर्मचारीहरुलाई प्राथमिकताका साथ दिइने बताइएको छ । विभागका महासचिव म्याट हानकोकले एक ट्विट गर्दै भनेका छन्, ‘आज ‘भि–डे’ हो, सबैमा धन्यवाद, जसले यसलाई सम्भव बनाउनुभयो, चिकित्सक, एनएचएस व्यवस्थापक कर्मचारीहरु, डाक्टरहरु, नर्सहरु र प्रत्येकमा जो परीक्षणमा स्वेच्छाले सहभागी भएर खोप लिँदै हुनुहुन्छ ।
यसलाई सफल पारौँ ।’ विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताएका छन् ।
बेलायतको नियामक निकायले गत बुधबार मात्र फाइजरको खोपलाई अनुमति दिएको थियो । कतिपय वैज्ञानिक समुदायले बेलायतले अलिबढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ । बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ । यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ । पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ ।








