१७ मंसिर,काठमाण्डौ ।
युरोपियन युनियनबाट छुट्टिएको बेलायतले वर्किङ भिषामा विदेशबाट कामदार आफ्नो देशमा आउन पाउने नयाँ कानुन बनाएको छ । यसका लागि नेपाली सहित विदेशी कामदारले अनलाईनबाटै भिषा आवेदन दिन सक्नेछन् । बेलायत सरकारले डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली सुरु गरेको जनाएको छ ।बेलायतमा कामका लागि जान चाहने विदेशी नागरिकहरुले १
डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउने र आउँदो जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अनुमति दिइने बेलायत सरकारले जनाएको छ । बीबीसीका अनुसार बेलायतमा कामका लागि जान चाहनेहरुले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनुपर्नेछ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ ।
बेलायत प्रवेशका लागि मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलब कम्तीमा २५ हजार ६ सय हुँदा २० अंक प्राप्त गर्न सक्ने बेलायती इमिग्रेशनले जनाएको छ । बेलायतमा जान चाहने सबै प्रक्रिया पूरा गरेपछि भिसाको निर्णय तीन साताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने त्यहाँको सरकारले जनाएको छ ।








