तालिबानको आक्रमण १६ सुरक्षाकर्मी मारिए

काबुल। अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतहरुका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् । बाघलान प्रान्तको गोजारगाह–ए–नूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नजिकै रहेको प्रान्तीय प्रहरी मुख्यालय नजिक पनि भिडन्त भइरहेको छ । तालिबान तर्फ के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन । अफगान सेना र प्रहरीका लागि अमेरिकी सैनिकले समेत बन्दोबस्तीको प्रबन्ध गरिरहेको अफगानिस्तानस्थित अमेरिकी सैनिक कमान्डले जनाएको छ ।

अफगान सरकार र तालिबानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी रहे पनि अफगानिस्तानभित्र हिंसात्मक झडपहरु नियमित रुपमा भइरहेका छन् । तालिबान र अमेरिकाबीच शान्ति स्थापनार्थ एक सम्झौतामा हस्ताक्षर भए पनि दिगो शान्ति स्थापनामा अझै जटिलताहरु रहेका छन् । रासस (File Photo:Business Insider)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।