पोर्न साइटमा फोटो देखिन थालेपछि हटाउन थाले ‘कपल च्यालेञ्ज’का फोटो !

एजेन्सी, काठमाण्डौ ।
सामाजिक सञ्जालमा पछिल्ला केही दिन यता च्यालेञ्जको नाममा अनेक ट्रेन्डहरु चलिरहेका छन् । जसमा कपल च्यालेञ्जको रुपमा प्रयोगकर्ताहरुले आफ्नो पार्टनरसँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । कपल च्यालेञ्जनको नाममा प्रयोगकर्ताहरुले आफ्नो निजी जानकारी उदाङ्गो पारिरहेका छन् । जसको आधारमा ह्याकरले निशाना साँध्न सक्ने जोखिम निकै छ ।यदि तपाईं पनि हाँस्दै मुस्कुराउँदै गरेको आफ्नो पार्टनरसँगको फोटो ह्यासट्याग कपल च्यालेञ्ज सहित फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पोस्ट गरिरहनु भएको छ भने सतर्क रहनुहोस् ।
यो ह्यासट्याग मात्र नभएर ह्याकरले व्यक्तिगत जानकारी संकलन गर्न बुनेको जाल भएको साइबर सुरक्षा विज्ञहरुको विश्लेषण छ । सेल्फी लिँदा त ठीकै छ ।

त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्नु पनि स्वभाविक नै मान्न सकिन्छ । तर यदि तपाईं सामाजिक सञ्जालमा चलिरहेका ह्यासट्याग ट्रेन्डमा आफ्नो तस्वीर तथा निजी जानकारी पोस्ट गरिरहनु भएको छ भने त्यो अरुका लागि तपाईंको च्यालेञ्ज नभएर आफ्नै जीवनमाथिको च्यालेञ्जको रुपमा आइलाग्न सक्छ ।

यो ट्रेन्ड नेपालमा मात्र नभएर अहिले छिमेकी देश भारत, बंग्लादेश लगायतका मुलुकमा पनि खुबै चलेको छ । अहिलेसम्म करिब ३० लाख प्रयोगकर्ताले कपल च्यालेञ्जको रुपमा आफ्ना पार्टनरसँगको फोटो फेसबुकमा शेयर गरिसकेका छन् ।हुँदा हुँदा यो विषय भारतको प्रहरी समक्ष पुगेको छ ।

भारतको पुणे प्रहरीले आफ्नो ट्वीटर ह्याण्डलमार्फत प्रयोगकर्ताहरुलाई यो च्यालेञ्जबाट जोगिन अनुरोध गरेको छ । चौतर्फी रुपमा यस किसिमको खबर फैलिएसंगै अहिले कपल च्यालेन्जमा पोष्ट गरिएका फोटोहरु फेसबुक बाट धमाधम हटाउन थालिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।