१० अगष्ट,सिड्नी ।
कोरोनाभाईरसको दोस्रो वेभले बिशेषतःअष्ट्रेलियाको भिक्टोरिया राज्यलाई सताएको छ । पहिलो वेभमा न्यु साउथ वेल्समा कोरोनाको संक्रमित संख्या सर्बाधिक धेरै थिए । अहिले संक्रमित र मृतकका हिसाबले भिक्टोरिया राज्य पहिलो बनेको छ । अष्ट्रेलियाकै रेकर्डमा अहिले सम्मकै सर्बाधिक धेरैको मृत्यु पछिल्लो २४ घण्टामा भिक्टोरियामा भएको छ ।
बितेको २४ घण्टामा भिक्टोरियामा मात्रै १९ जनाको मृत्यु भएपछि भिक्टोरियामा लकडाउन र कर्फ्युमा थप कडाई गरिने भएको छ । एक दिनमै भिक्टोरियामा धेरैको मृत्यु भएपछि अष्ट्रेलियन सरकारलाई चुनौती थपिएको छ । पहिलो वेभसम्म करिब १ सय जनाको मृत्यु भएको देशमा यो समचार तयार पार्दा सम्म देशभर मृतकको संख्या ३ सय १३ पुगेको छ ।
पहिलो वेभमा करिब ८ हजार संक्रमित रहेको देशमा अहिले २१ हजार ३ सय ९७ पुगेको छ । यस्तै पहिलो वेभमा देशभर कुल १० जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टी भएकोमा अहिले भिक्टोरियामा मात्रै करिब २ सय नेपालीमा कोरोना संक्रमण देखिएको छ ।







