२२ साउन,काठमाण्डौ ।
भारतको गुजरात राज्यमा कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला रहेको बीबीसीले जनाएको छ । अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बताएका छन् ।
बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ। एक घण्टामा आगो नियन्त्रण आएको थियो । अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको छ । आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीलाई क्वारन्टीनमा राखिएको छ।
राज्य सरकारले घटनाबारे तीन दिनभित्र अनुसन्धान गरिसक्न निर्देशन दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन्। आफूले राज्यका मुख्यमन्त्रीसँग कुरा गरेको बताएका छन् । गुजरात मोदीको गृहराज्य हो ।








