चीनमा कोरोना संक्रमित बढ्न थाले,दोस्रो लहरको चिन्ता

१ असार,काठमाण्डौ ।
सोमबार चीनमा कोरोना भाइरस (कोभिड–१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार पछिल्लो २४ घण्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी सहर बेइजिङका हुन् । यसअघि आइतबार पनि बेइजिङमा ३६ नयाँ संक्रमित फेला परेका थिए । यसअघि ५० दिनभन्दा लामो समयसम्म यो सहरमा कुनै पनि संक्रमित फेला परेका थिएनन् ।बेइजिङमा पछिल्लो समय देखिएका अधिकांश संक्रमित सहरको सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको बताइएको छ । सिन्फाडी मार्केटबाट मात्र अहिलेसम्म ७९ संक्रमित फेला परेको ग्लोबल टाइम्सले बताएको छ । त्यस्तै लियाओनिङ, हपेई र सिचुवान प्रान्तमा पनि बेइजिङबाट फर्किएका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चिनियाँ उपप्रधानमन्त्री सुन चुनलाङले मुलुकमा कोरोना भाइरस नियन्त्रणको लागि निर्णायक कदम चालिने बताएकी छिन् । साथै उनले आगामी दिनमा चीनमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनी पनि दिएकी छिन् ।यसअघि बिहीबार बेइजिङमा एक संक्रमित फेला परेका थिए भने त्यसको भोलिपल्ट ६ संक्रमित फेला परेका थिए ।

नयाँ संक्रमित भेटिएसँगै सिज्फाडी मार्केट र त्यसको आसपासका ११ क्षेत्रमा लकडाउन घोषणा गरिएको थियो । सोमबार थप १० क्षेत्रमा लकडाउनको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।